नमराज जैसी (दैलेख)
श्रावन शुक्ल चतुर्थीका दिन विशेष रुपमा पुजाआजा गरिने दैलेख जिल्लाको पश्चिम आठबिश नगरपालिका वडा नम्बर 3 मा अवस्थित मालिका मन्दिर धार्मिक रूपले अतिनै महत्वपूर्ण र प्राकृतिक सौन्दर्यताको घुम्टोले सजिएको एक एतिहासिक सम्पदा हो। यो सम्पदा यो क्षेत्रकै सबैभन्दा उच्च स्थानमा अवस्थित रहेको छ।यो मन्दिरको आफ्नै छुट्टै धार्मिक र सामाजिक विशेषता, मूल्य तथा मान्यताहरु रहेका छन् । मालिका मन्दिरमा विशेष गरी बडिमालिकाकी बहिनी मालिका माताको पुजाआजा गर्ने गरिन्छ। विशेष रूपले पुजाआजा गर्नाले इच्छाएको मनोकामना पूरा हुने धार्मिक विश्वास गरिन्छ ।
मालिका माईको पुजा गर्ने दिन मालिका मन्दिरमा विशेष गरी अछाम, कालिकोट, सुर्खेत (पश्चिम) कैलाली, बर्दिया र दैलेखका विभिन्न ठाउँबाट भक्तालुजनहरु पुजाआजा गर्न आउने गर्दछन्। उक्त मन्दिरमा गएर व्रत बसेर पुजाआजा गरी बर मागेमा सन्तान नहुनेलाई सन्तान प्राप्ती हुने । यस्तै, सम्पती नहुनेले मलाई सम्पती दिनु भनेर वर मागेमा सम्पती मिल्ने, नोकरी राम्रो होस्, व्यावसाय सफल होस् भन्ने वर मागेर पुजाआरधना गरेमा पढाई, नोकरी तथा व्यावसायमा सफलता मिल्ने धार्मिक जनविश्वास रहेको छ।
धार्मिक महत्व र आस्थाका कारण मालिका मन्दिरलाई समग्र दैलेख र पश्चिम नेपालकै एक महत्वपूर्ण धार्मिक सम्पदाका रुपमा चिनिन्छ। यो मन्दिरको धार्मिक महिमा जस्तो रहेकोछ त्यस्तै यहाँको प्राकृतिक बाताबरण पनि उत्तिकै मनमोहक र रमणीय छ । यस मन्दिर क्षेत्रबाट दैलेखको ५० प्रतिशत भू–भाग र कालिकोट, अछाम, सुर्खेत,कैलाली, बाजुरा लगायतका केही ठाउँहरू नियाल्न सकिन्छ।
कसरी पुग्न सकिन्छ उक्त मालिका मन्दिर ?
यो मन्दिर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट झण्डै 130 किलोमिटरको दुरीमा दैलेख जिल्लाको आठविस नगरपालिका 3 मा अवस्थित रहेको छ । यस मन्दिरसम्म पुग्नको लागि कर्णाली राजमार्ग देखि लगभग 15 देखि 20 किलोमिटर बराबरको कच्ची सडकको यात्रा गर्नुपर्ने हुन्छ । यो मन्दिरसम्म पुग्ने अर्को बाटो मध्यपहाडी लोकमार्ग पनि रहेको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत आठविस् नगरपालिकाको सिंगौडी हुलाक डाँडा बाट उकालो बाटो कम्तीमा 2 घण्टाको पैदल यात्रा गरेपछि मालिका पुग्न सकिन्छ। त्यसै गरी आठाबिस नगरपालीका अन्तर्गत जाक्सी देखि निमायल, नीमायल देखि गोगनपानी हुँदै मालिका पुग्न सकिन्छ। त्यसैगरी आठबिस नगरपालिकाको केन्द्र राकमकर्णाली बाट तिलेपाटा हुँदै पनि मालिका पुग्न सकिन्छ।त्यसै गरी ठाटीकाध गाउपालिकाको विभिन्न ठाउँ हुँदै पनि मालिका पुग्न सकिन्छ।
यहाँको धार्मिक महत्व र प्राकृतिक सौन्दर्यताले यस मन्दिरमा पुग्ने जो कोहीको मन लोभिने गर्दछ । मन्दिरको नयाँ संरचना निमार्ण, विभिन्न प्राचिन सम्पदाको उत्खनन् र सडक विस्तार तथा सुधार भएसंगै यस मन्दिरमा पुग्ने आन्तरिक तथा वाह्य पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
0 Comments